उपप्रधानसहित गृहमन्त्रीबाट राजीनामा दिएको एक सातासम्म पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री क्वार्टर नछाडेको पाइएको छ । उनी मन्त्रीबाट हटेको दिनदेखि हालसम्म त्यही बसिरहेका हुन् ।
उनले उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका थिए । सर्वोच्च अदालतले लामिछानेको उम्मेदवारी खारेज गर्दै नागरिकता लिन प्रक्रिया थाल्ने फैसला गरेपछि मन्त्रीसहित सांसदको पद गएको हो । उपप्रधानसहित गृहमन्त्री गुमाएका लामिछानेले भने मन्त्री क्वार्टर नछोडेर त्यहीँ बस्ने गरेका छन् ।
पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्नु दुःखद भएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘पुराना दल ठिक भएनन् भनेर हामीले नयाँ संस्कार सिकाउन राजनीति थाल्यौँ’ कार्कीले भने, ‘तर, हामी पुरानो दलभन्दा फरक हुन सकिएन ।
यो दुःखद पक्ष हो ।’ मन्त्री पदबाट राजीनामा दिने बित्तिकै मन्त्री क्वार्टर छोडेको भए सारै राम्रो हुने भन्दै कार्कीले दुःख व्यक्त गरे । लामिछानेले राजीनामा दिएकै दिन क्वाटर छोड्ने हल्ला चलेपनि उनले क्वाटर नछोडेको खुलेको छ ।
यस्तै,सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा बैठकमा गराएका छन् ।
सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ । लामिछाने गत चुनावमा चितवन – २ बाट निर्वाचित भएका थिए ।