काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलापछि सांसद र मन्त्रीबाट मुक्त भएका उनी पूनः गैरसांसदको रुपमा गृहमन्त्रालयको नेतृत्वमा फर्कनेगरि दौडधुपमा रहेका छन् ।
लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमार्फत पनि प्रधानमन्त्री दाहालमाथि दबाब बढाएका छन् ।
तर, प्रधानमन्त्री प्रचण्डले भने नागरिकतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवाद कायमै रहेकोले अहिले गृहमन्त्रालय दिन नसकिने अडान लिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नै दलभित्रबाट गृहमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका शीर्ष नेताहरुसँग यसबारेमा परामर्श गरिसकेका छन् ।
प्रचण्डले आजभोलिभित्रै पार्टीबाट नै गृहमन्त्री नियुक्त गर्ने जनाइएको छ । माओवादी केन्द्रनिकट उच्च स्रोतकाअनुसार दाहालले गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई अघि सार्न खोजेका छन् ।
श्रेष्ठ हाल उनी नेतृत्वको क्याविनेटमा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री छन् । प्रधानमन्त्रीले पुष ११ गते पद तथा गोपनियताको सपथ खाने दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
सुरुमा गृहमन्त्रालय माओवादीको भागमा परेको भनिएको थियो । तर, सपथको ठिक एक घण्टा अघि लामिछानेले गृह नपाए सरकारमा नजाने अडान लिएपछि उनले बाध्य भएर लामिछानेलाई सो मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए ।
बालुवाटारले त लामिछानेलाई अब गृहमन्त्रालयको च्याप्टर क्लोज भएको भन्दै यही विषयमा कुरा गर्न नआउनसमेत भनेको स्रोतले जनाएको छ ।