राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाब दिएका छन् । आफ्नो राहदानीको मुद्धा विचाराधीन नै रहेको अवस्थामा लामिछानेको थप आलोचना हुने र पछि सजाय भए फेरि बाहिरिनुपर्ने भन्दै उनी गृहमन्त्रीको दौडबाट बाहिरिएको चर्चा छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई पटक-पटक भेटेर आफूलाई गृहमन्त्री बनाउन गरेको आग्रहले काम नगरेपछि हिजो दिउँसो फेसबुकमा लेखेर ‘मौनता तोडेकाु लामिछानेले लगत्तै केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका थिए ।
सरकार छोड्ने तयारीका साथ बसेको भनिएको झण्डै चार घण्टा लामो बैठक अन्तत: टापटिपे निर्णय गरेर टुंग्याइयो । बैठकले दुई दिनको समयसीमा दिएर गृह मन्त्रालयको अडान नछोड्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बाहिर आएर पत्रकारलाई सुनाए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले फोन गरेर दुई दिन समय मागेपछि त्यस्तो निर्णय गर्नुपरेको उनको भनाई थियो ।
ढकालले बाहिर पत्रकारमाझ उभिएर पार्टी एकढिक्का रहेको सन्देश दिन खोजे पनि वास्तविकता भने त्यसको ठ्याक्कै विपरित रहेको बताइन्छ । रास्वपा स्रोतका अनुसार बैठकमा अधिकांश नेताले सरकारमा सहभागी हुने र छोड्ने निर्णयको औचित्यपूर्ण जवाफ सभापतिले दिनुपर्ने कडिकडाउ प्रश्न उठाएपछि माहोल गर्माएको थियो ।
अधिकांश नेताले गैरसांसदलाई मन्त्री बनाउँदा हिजो आफैँले उठाएको नैतिकताको प्रश्नको सामना गर्न नसकिने भएकाले अर्को पात्रलाई गृहमन्त्री बनाउनु पर्नेमा जोड दिएका थिए ।
कतिपयले भने जनताको जीवनसँग गाँसिएका विकासे मन्त्रालय लिएर गृहको अडान लिन नहुने सुझाव पनि दिए । सरकारबाट बाहिरिन नहुने अधिकांशको मत आएपछि नै लामिछानेले दुई दिनको अल्टिमेटम दिने निर्णय लेखाएका हुन् ।
बरु उपप्रधान नलिने तर, गृह नछोड्ने,राह’दानीवाला मु’द्दा प्रभावित हुन नदिन आफूले बाहिरबाट लगाम लगाउने गरी अर्को कोही बिश्वासिलो पात्रलाई त्यहाँ पठाउने लामिछानेको अन्तिम प्रयत्न देखिन्छ । प्रधानमन्त्री र एमाले अध्यक्षलाई उपप्रधान नभए पनि हुन्छ गृह चैं दिनुस् भनेर रास्वपाको सन्देश पुगेको सत्ता गठबन्धन स्रोतको दावी छ ।