काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपतिमा रामबहादुर थापा ‘बादल’ लाई अघि सार्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बादलको नाममा माओवादी पनि सहमत हुने भएपछि उनलाई अघि सार्ने तयारी गरेको विश्वस्त स्रोतको दाबी छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने बताईरहेको बेला ओलीले बादललाई अघि सारेर उनको नाममा सहमति गर्न खोजेका छन् । ओलीले बादलको नाम लिएपछि प्रचण्ड पनि सोच्न बाध्य भएका छन् ।
बादल प्रचण्डका पूर्व सहयोगी हुन् । नेकपामा विभाजन हुँदा बादल प्रचण्डको साथ छोडेर ओलीको कित्तामा उभिएका थिए । अहिले संसदीय राजनीतिमा निष्क्रिय बसेका बादललाई ओलीले सक्रिय बनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग बादलको जनयुद्धकालमा सुमधुर सम्बन्ध थियो । बादललाई राष्ट्रपति बनाउँदा जनजाति आन्दोलनको पनि न्याय हुने भएकोले उनको नाममा प्रचण्डले पनि सहमति जनाउने अड्कलबाजी भएको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै गठबन्धनमा खट्पट् सुरु भएको अनुमान छ । प्रधानमन्त्री दाहालले २६ पुषमा विश्वासको मत लिँदै गर्दा नेपाली कांग्रेसको पनि मत पाएका थिए । संसद्मा अभूतपूर्व मत पाएपछि दाहालले राष्ट्रपतिमा सबै दलको साझा व्यक्तिको खोजी गरेका छन् ।
दाहालले राष्ट्रपतिमा साझा सहमति खोज्ने अभिव्यक्ति दिएपछि एमाले नेतृत्व बिच्किएको छ ।
अध्यक्ष ओलीले भने कुनैपनि हातमा एमालेकै उम्मेदवारकै नाममा सहमति हुनुपर्ने अडान लिएका छन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी निर्णायक छ । उसले कांग्रेस वा एमाले जसको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने सम्भावना रहेको छ । ओलीले आज÷भोलिभित्रै बादललाई बालुवाटार लगेर प्रचण्डसँग छलफल गर्ने तयारी भएको स्रोतको दाबी छ ।