एक ८४ वर्षिय वृद्ध र ६४ वर्षिया वृद्धाबीच धुमधामका साथ विवाह भएको छ । गुल्मीका एक जना ८४ वर्षिय वृद्ध कुलानन्द खनाल र अर्घाखाँचीकी ६४ वर्षिया नारायणी पौडेलले विवाह भएको हो ।
डेढ दशकदेखि एक्लिएका धुर्कोट–२ सुफलका खनालले छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुःख भएकाले विवाह गर्नुपरेको बताएका छन्। छोरानाति छुट्टिएपछि उनी एक्लै वसोवास गर्दै आएका छन् ।
पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । कुलानन्दसँग विवाह गरेकी नारायणी पनि श्रीमान् बितेपछि एक्लै थिइन । उनका पनि तीन छोरा, दुई छोरी छन्। तर, उनीहरुले सहारा नदिदा दुःख पाएकाले विवाह गरेको वताईन।
खनाल र पौडेल दुवैका छोरीको विवाह नेपालगन्जमा भएको छ । छोरी भेट्न गएका बेला संयोगले उनीहरुको भेट भएको थियो। दुःख साटासाट गर्ने क्रममा विवाहका लागि मञ्जुर भएको कुलानन्दको भनाई छ ।