एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा एकीकृत समाजवादी ९नेकपा एस० का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए। नेपाली कांग्रेस, जसपा र माओवादीले बेग्लै गठबन्धन बनाइसकेको र एमालेको मात्रै प्रयासले राष्ट्रपति हुन नसक्ने ठानेर नेपाल ओलीको प्रस्तावमा मौन बसेका हुन्।
ओलीले महाराजगन्जस्थित एक घरमा नेपालसँग भेट गरेका थिए। प्रधानमन्त्री दाहालसँग कुराकानी गरेर बालुवाटारबाट निस्केका ओली सोझै नेपाललाई भेट्न महाराजगन्जस्थित एक निजी घरमा पुगेका थिए।
ओलीसँगको वार्तामा अलमलिएका कारण नेपाल कांग्रेस, माओवादीसहितको बालुवाटार बैठकमा केही ढिलो पुगेका थिए। बालुवाटार बैठकपछि मात्रै जबाफ दिन सकिने भन्दै नेपाल ओलीसँग बिदा भएका थिए। ओलीले केही दिनअघि पनि नेपाललाई भेटेर राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए।
राष्ट्रपति निर्वाचनमा उम्मेदवार तोक्ने विषयमा प्रधानमन्त्री दाहालले दोहोरो मापदण्ड अपनाएका छन्। ओलीले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि दाहालले बिहीबार तीन दल (माओवादी केन्द्र, जसपा र नेकपा एस) को बैठक राखे। उनले बैठकमा नेपाललाई उम्मेदवार बनाउने र त्यसका लागि कांग्रेससँग संवाद गर्ने निर्णय गराए।
त्यसअघि ओलीनिवास बालकोटमा नेपाललाई उम्मेदवार बनाउने र अन्य दलहरूको सहयोग लिन छलफलको तयारी भइरहेकै अवस्थामा सूचना चुहिएपछि दाहालले कांग्रेससँग संवाद थालेका थिए।
‘जसपालाई एमालेले उपराष्ट्रपति बन्न गरेको प्रस्तावको सूचना चुहिएपछि कांग्रेसले पनि जसपालाई सोही प्रस्ताव गर्यो, जसले गर्दा माओवादीले नेपाललाई राष्ट्रपति नदिने रणनीति तय गर्दै कांगेसलाई बालुवाटारमा इन्ट्री गरायो’, नेकपा एसका एक नेताले भने, ‘नेपाललाई राष्ट्रपति नबनाउन माओवादी आफैं लाग्यो।’ आजको नागरिक दैनिकमा समाचार छ ।