अभिनेत्री करिश्मा मानन्धरको निजी जीवनबारे आपत्तिजनक अन्तर्वार्ता दिएको आरोपमा १६ दिन हिरासतमा बसेर धरौटीमा छुटेका डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार अभियोग पत्र दर्ता भएको छ । खनालका साथै सरकारी वकिल कार्यालयले उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक भन्दै त्यो च्यानलसँग कुनै सम्बन्ध नै नभएका नागरिक पत्र डटकमका प्रकाशक गोकर्ण जोशीलाई समेत प्रतिवादी बनाएको छ ।
डिल्लीरामसँग सो अन्तर्वार्ता लिने व्यक्ति न्यु अनलाइन टिभी नामक युट्युबका सञ्चालक हुन् । तर, खनालले चिनजानसमेत नभएका जोशीलाई अनावश्यक रुपमा घटनामा जोडेर फसाउन खोजेका छन् । स्रोतका अनुसार खनालले जोशीलाई ३ पटक अन्तर्वार्ता दिएको आरोप लगाएका छन् । जबकी उनको १ पटक पनि भेटसमेत भएको छैन । नागरिक पत्र डटकम र अनलाइन न्यूज नेपाल डटकमबाहेक जोशी कुनै मिडियासँग सम्बद्ध छैनन ।
हामीले खनालको सो अन्तर्वार्ता लिने लिने युट्युबका सञ्चालकसँग कुराकानी गरेका छौँ । जसमा उनले आफूले नै अन्तर्वार्ता लिएको स्वीकार गरेका छन् । उनले नै जोशीको नाम देखेर आश्चर्य व्यक्त गरेका छन् । करिश्माले उजुरी दिएपछि पनि सो च्यानलले डिल्लीराम खनालको अन्तर्वार्ता लिएको छ ।
खनालविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ । मुद्धा दर्ता गर्नुअघि घटनाबारे प्रहरीले गरेको अनुसन्धानमा पनि प्रश्न उठेको छ । मानन्धरले आफूलाई मानहानी गरेको भन्दै गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।