राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँको डिल गरेको अडियो ९श्रव्य सामग्री० बाहिरिएपछि उनको सांसद पद धरापमा छ ।
सञ्चारमाध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारवाही नगर्नरनगराउन निर्देशन दिएको थियो ।
त्यस्तै रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको थियो । सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए ।
स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ । सोही कुरा सोमबार श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ ।
श्रेष्ठले स्पष्टीकरण दिएपछि केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलवार आफ्नो प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेको छ ।यो समाचार नागरिक दैनिकमा छ ।
यता, श्रेष्ठले पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले ‘कोर टिम’को खुलासा गरिदिने चेतावनी दिएका छन् । तर अहिलेसम्म ‘कोर टिम’मा को को छन् भन्ने कुनै जानकारी छैन ।
श्रेष्ठले पार्टीभित्रकै केही नेताले आफूलाई फसाउन लागिपरेको भन्दै नेतृत्वले सहयोग गर्नुपर्ने बताएका छन् । सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको हुँदा पार्टीलाई सहयोग गर्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।