नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको छ । पूर्वको लेटाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकनका लागि यसका मुख्य कलाकार र निर्माणटिम आइतबार लेटाङ पुगेका थिए ।
चलचित्रको शुभसाइत गर्र्दै छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । बाबरी फिल्मस्को प्रस्तुतिमा तयार हुन यो चलचित्रको छायांकन लेटाङ, बुधबारे र सिक्किममा हुनेछ । २ साता नेपालमा चलचित्रको छायांकन गरेपछि सिक्किम प्रस्थान गर्ने तयारीमा यसको निर्माणपक्ष छ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
चलचित्रमा धिरज र अदितीको साथमा धिरज टोटलानी, तृत्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकनमा नायिका तृत्ती नाडकरका छोरा धिरज एक साता पछि जोडिनेछन् । २ यूवा र एक यूवतीका त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गतबर्षको लकडाउन अगाडि नै सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो ।
तर, कोरोनाका कारण लामो समय लकडाउन भएपछि चलचित्रको काम सुरु हुन सकेको थिएन । नायक धिरज मगरले चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकेपछि यो चलचित्रको काम सुरु गरेका हुन् । नायिका अदिती वुढाथोकीले भने चलचित्र ‘कृ’पछि यो चलचित्रमा काम गर्न लागेकी हुन् ।