गत चैत्र २५ गते रिपोटर्स क्लब नेपाल, भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै किरण शाही ठकुरी नामक व्यक्तिले ४८ लाखभन्दा बढी रकम ठगेको बताएकी सुर्खेतकी लक्ष्मी सुनारले सो दिन बोलेको भिडियो हटाइदिन नागरिक पत्रलाई आग्रह गरेकी छिन् । पत्रकार सम्मेलनमा आशु झार्दै उनले आफैले बालेको कुरा बिर्सिदै अहिले नागरिक पत्रसँग कुराकानी गर्दै आफूहरुको कुराकानी मिलिसकेको र भिडियो हटाइदिन आग्रह गरेकी हुन् ।
‘लेडिजको मन त भइहाल्यो, हाल्ने बेला विश्वास गरेर पैसा हालियो, श्रीमानबाट पनि तनाव पाए तर पछि केही काम नलागेपछि म रुदैँ काठमाडौँ आए’, लक्ष्मी सुनारले भनेकी थिइन् ।
उनलाई पत्रकार सम्मेलन गराउन आफूलाई पत्रकार बताउने एकजनाले सहयोग गरेका थिए । चित्रराज बज्राचार्य, किरण शाही ठकुरी, रामकृष्ण थापा, दिनेश पुनले आफूलाई डिआइजी बताएर सेना, प्रहरीमा भर्ना गरिदिने भन्दै १७ जनाबाट ४८ लाखभन्दा बढी रकम खाएको ती पत्रकारले पनि दाबी गरेका छन् ।
किरण ठकुरीको बारेमा लक्ष्मीले झुटो बोलेको भन्दै खपिस सिंहद्धारा खण्डन
खपिस सिंह नामक व्यक्तिले किरण ठकुरीको बारेमा लक्ष्मीले झुटो बोलेको भन्दै खण्डन गरेका छन् । यसमा आफू र आफ्नो परिवारको आपत्ति रहेको उनले बताएका छन् ।
‘जिम्मेवार मिडियाले घटनाको यर्थाथ विवरण बुझेर मात्रै समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने र बोलेका कुरालाई स्थान दिनुपर्नेमा दुईमत नहोला’, उनले नागरिक पत्रलाई पठाएको निवेदनमा भनिएको छ । नागरिक पत्रले सम्प्रेषण गरेको उक्त भिडियो खण्डनसहित यथाशिघ्र डिलिट नगरे कानुनी प्रक्रियामा जाने उनले चेतावनी दिएका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई लक्ष्मी सुनारको निवेदन
किरण ठकुरी लगायतका व्यक्तिले ठगेको भन्दै पत्रकार सम्मेलन गर्ने लक्ष्मी सुनारले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई आफूले मिडियाबाजी गरेको, झुटो बोलेको भन्दै अबदेखि यस्तो काम नगर्ने वाचासहित निवेदन दिएकी छिन् । २०७९ माघ १२ गते उनले किरण लगायतका व्यक्तिविरुद्ध हालेको मुद्धा झुटो रहेको बताउदैँ आफूहरुबीच कुनै लेनदेन नरहेको प्रष्ट्याएकी छिन् ।
साथै, उनले रामकृष्ण थापा नामक व्यक्तिसँग आफ्नो घरायसी लेनदेन भएको भन्दै सो लेनदेनबारे सहमति भइसकेको निवेदनमा उल्लेख गरेको देखिन्छ ।