एक बर्षअघि १४/१५ बर्षीय किशोर किशोरीदेखि ९० बर्षीय हजुरबाले ‘इजोरिया पढिरहेको तस्बिर सामाजिक सञ्जालमा आइरहदा मेरो मनमा कौतुहलता जागिरहेथ्यो । यो ‘इजोरिया’ को अर्थ के होला ? कस्तो कथा होला ? यो पुस्तकका लेखक सुबिन भट्टराईले यसअघि नै लेखिसकेका चर्चित किताबहरु ‘समर लभ’, प्रिय सुफी लगायतले बजार तताएपछि इजोरिया पढ्न जो कोही साहित्यपे्रमीलाई कौतुहल्ता नहुने कुरै भएन । कथा सुरु भएपछि पढी नसक्दासम्म छौड्नै मन लागेन । बीच बीचमा मैथली भाषाको मिश्रणसँगै गीतहरु पनि समेटिदाँ कथा झनै रोचक लाग्थ्यो । अन्त्यमा कथावस्तु रहस्यमय, अनुत्तरित ढंगले सकिरहदा अहिले नै नसक्कियोस् भन्ने लाग्थ्यो । कथा पढ्दापढ्दै आफूले देखेका, भोगेका पात्रहरुसँग जोड्दै गर्दा यो कथा होइन यथार्थ नै हो भनेजस्तो भान भइरहन्थ्यो । ‘इजोरिया’ एक अभिभावक गैरजिम्मेवार, अशिक्षित र सचेत नहुनुका कारण तराईको जनकपुरमा घटेका घटनाहरुको सम्मिश्रण हो ।
शंकर, हरिध्वज र गजराजलगायत गर्मीको मौसममा ‘शंकर’कै घरमा जाड, रक्सी खादैँ तास खेल्न व्यस्त हुन्छन् । खानेकुरा बनाउँने जिम्मा ‘शंकर’की श्रीमती ‘रमिला’को हुन्छ । उनलाई कहिलेकाही छोरी शिरीषले पनि सहयोग गर्छिन । ‘शंकर’को घर भट्टीझैँ हुन्छ । शिरीषकी बहिनी सिम्रिक’, ‘सिम्रिक’को साथी ‘ठाकुर’ । शिरीष’ किशोरावस्थामा हुन्छे । ‘सिम्रिक’ सानै । सभ्यता र सन्देश अरु २ छोराछोरी पनि परिवारमा आइसकेका हुन्छन् । ठाकुरका बुवाले अर्को बिहे गरेर छोडेपछि माईले जागिर गरेर छोरो पढाउन थाल्छिन् । कथावस्तु निरन्तर अघि बढिरहेको हुन्छ । ‘शिरीष’ले रहस्यमय रुपमा आत्महत्या गर्छिन । शिरीषको देहान्तपछि सिम्रिक र बुवाको टकराव निकै खतरनाक मोडसम्म गर्छन । सिम्रिक साँझ अबेरसम्म घर नफर्किदा शंकरले उनलाई गाली मात्रै होइन् । कुटपिट पनि गर्छन । सिम्रिकलाई गोदाममा दिनौँसम्म बन्द गर्छन र बाँच्नेगरी मात्र साँझ बिहान खानेकुरा गर्छन । सिम्रिक पनि कम कहाँ थिई र बदला लिन उनी राती राती बुवाको झ्यालमा ढुंगाले हानेर हिर्काउथी । रजस्वला भएको बेला भान्सामा जान्थी । बुवा छोरीलाई ‘हरामीका सन्तान, आजसम्म कति जनासँग सुतिस्, शरीर कतिमा बेचिस् ’, जस्ता नीच शब्द प्रयोग गर्थे । यही बीच मधेश आन्दोलन जारी थियो । मान्छेहरु बसाई सरेर अन्त गइरहेका थिए । शंकरले पनि सर्ने विचार गर्दा रघुनाथ र सिम्रिकले मानेनन् ।
सिम्रिकको उमेर बढ्दै गयो । उनी एक क्याम्पसका विद्यार्थी नेतासँग प्रेममा परिन् । उसले फाइदा लिदाँसम्म लियो र केही समय मनोरञ्जन गरेपछि सिम्रिकलाई अलपत्र पारिदियो । प्रशान्तले अर्के केटीसँग बिहे गर्यो । सिम्रिकले प्रशान्तको मण्डपसहित घरमै आगो लगाइदिइन् र भागाभाग पारिदिइन्, बदला लिन । तर, उनीविरुद्ध अभियोग लगाएर प्रहरी हिरासत राखियो । शंकरले प्रशान्तसँग माफी मागेपछि बल्लतल्ल मुद्धा मिल्यो । सिम्रिक पीडा बिर्सिन रम, चुरोट, गाँजाको लत परिसकेकी थिई । उनीसँग निरन्तर बुवाको झगडा भइरहन्थ्यो । बुवाका थप्पडहरु उनलाई सामान्य भइसकेका थिए । दिदीको स्मृतिमा पागलजस्तै भइसकेकी थिइन् । बुवा र आमालाई दिदीको मृत्युको कारण सोध्दिन तर कसैले बताउदैँनथ्यो । उनले दिदीका साथीलाई पनि भेटेर यथार्थ पत्ता लगाउन प्रयत्न गरिरही । यसैबीच, अको केटा अभियानसँग उनको प्रेम भयो ।
तर, प्रशान्तले आफूलाई धोका दिएको बदला लिएझैँ उनले अभियानलाई पनि धोका दिइन् । यहीबीच परिवारले उनको बिहे आवाससँग गराइदिदा उनले बिहेकै दिन भागेर अर्को कदम चालिन् । बुवाले अनिश्चितकालिन रुपमा उनलाई गोदाममा बन्द गरेपछि छानो फुटाएर भागिन् र ठाकुरले साथ दियो । एकदिन उनले शिरीषले लेखेको चिठ्ठी भेट्छिन । चिठ्ठीमा आमाले भोगेको दुःखमा पोका गाँठो पारिएका थिए । बर्षौसम्म लुकेका रहस्य खुले । गजराजले तास खेल्ने बेला आमालाई गर्ने गरेको जबर्जस्तीका कारण आफूले कसैलाई भन्न नसकेर शिरीषले पाीडाग्रस्त अवस्थामा आत्महत्या गरेको खुल्यो ।
रमिलाकी आमा मायादेवी पनि त्यस्तै घटनाको सिकार भएकी रहेछिन् । सिम्रिकले आमा, भाई, बहिनी र हजुरआमालाई आफैँसँग विराटनगरमा राखिन् । जागिर गर्न थलिन् । गजराजको पनि सरुवा त्यही भएको रहेछ । उनले घटना भएको १० बर्षपछि गजराजविरुद्ध एफआईआर दर्ता गराइन् । मुद्धा अघि बढ्यो तर सम्बन्ध सहमतिमै भएको र जबर्जस्ती गरेको प्रमाण नभएपछि उनीहरु गजराजले नै मुद्धा जित्छ । एकदिन सिम्रिकको माओवादी साथी रामबली उनलाई भेट्न विराटनगर आउँछ । उसले सिम्रिकलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँछ । सिम्रिक मर्निंग वाक गइरहेका बेला टोलमा हल्लाखल्ला भइरहेको हुन्छ । प्रहरीले मुचुल्का उठाइरहेको हुन्छ ।
अन्त्यमा, मैथली भाषाको मिश्रण, शब्दहरुको चयन र समग्र कथावस्तुले गर्दा यो कथामा मिठासताले सुगन्ध छरेको छ । सिम्रिक रमिलाको जीवनमा जुनको उज्यालो अर्थात इजोरिया बनेर आएपछि रमिलाले थोरबहुत शान्तीको सास फेर्न पाउँछे । कथावस्तुले समाजको यथार्थतालाई पनि प्रतिविम्बित गरेको हरकोहीलाई झझल्को आउँछ ।
कृतिः इजोरिया
लेखकः सुबिन भट्टराई
प्रकाशनः फाइनप्रिन्ट
मूल्य: ६४८
पृष्ठ: ४८४