फास्ट बलर अविनाश बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका छन् । केही समय अघिदेखि प्रतिज्ञासँग प्रेम सम्बन्धमा रहेका बोहोराले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाकै निवासमा इन्गेजमेन्ट गरेका हुन् ।
अविनाश राष्ट्रिय टिममा टी–२० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित बलर हुन् । उनले २०१९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । घरेलुमा भने उनी एपीएफ क्लबबाट खेल्छन् । प्रतिज्ञा भने केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् ।
को हुन् अविनाश ?
गत असोजमा असोज एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालका बलर अविनाश बोहरा एक्लैले सर्वाधिक ६ विकेट लिएका थिए । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराको सर्वाधिक ६ विकेट ऐतिहासिक बन्यो । जुलाई ३०, १९९७ मा सल्यानमा जन्मिएका अविनाश १९ बर्ष मुनिका खेलाडीहरुमा नै चम्किएका बलर हुन् ।
फेब्रअरी ५, सन् २०२० मा किर्तिपुर क्रिकेट मैदानमा भएको नेपाल र ओमानबीचको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन् । यूएईविरुद्धको टी–२० सिरिजमा अविनाश बोहोरा प्लेयर अफ दी सिरिज घोषित भएका थिए । उनी टी–२० को आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका थिए ।
नेपाललाई टी–२० सिरिजको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अविनाशले अन्तिम खेलमा दुई ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिएका थिए ।
अविनाश बोहराको चलाखीपूर्ण ‘डेथ ओभर’ले धनगढी प्रिमियर लिग (डीपीएल) मा खेलको पूरै समीकरण बदलिएको थियो ।
जीतका लागि ६ बलमा मात्र पाँच रन आवश्यक भएका बेला बलिङमा आएका बोहोराले आफ्नौ चौथो बलमा प्रदीप ऐरीलाई रनआउट, पाँचौं बलमा बिक्रम सोबलाई क्याचआउट र अन्तिम बलमा कप्तान बसन्त रेग्मीलाई रनआउटको शिकार बनाएर उनी आवद्ध महेन्द्रनगर युनाइटेडलाई एक रनले जिताएका थिए ।