१५ नोभेम्बर २०२३ अर्थात कात्तिक २९ गते रुसी सेनामा भर्ना भएका तीन जना नेपालीको मृत्यु भएको खुलेको छ । रुसस्थित नेपाली दूतावासका अनुसार स्याङ्जाका पितम कार्की, दोलखाका राज कुमार रोका र इलामका गङ्गाराज मोक्तानको मृत्यु भएको हो ।
रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको जानकारीसहितको पत्र दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई पठाएको छ । १५ नोभेम्बरमा भाइटिका परेको थियो ।
रुसी सेनाबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको र उनीहरूको परिवारसँग समन्वय गर्न भन्दै विभागलाई पत्राचार गरेको थियो । दूतावासले मङ्सिर ८ गते विभागलाई पत्र पठाउँदै मृतकहरूको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्न अनुरोध हो । दूतावासको पत्रको आधारमा परिवारसँग सम्पर्क गरिएको र शव व्यवस्थापनको काम भइरहेको विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए ।
रुस–युक्रेन युद्धमा चार नेपालीको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत चारै जनाको मृत्यु भएको दूतावासले जनाएको छ । यसअघि गोरखाका सन्दीप थपलियाको समेत मृत्यु भएको थियो । थपलिया असार २९ गते युक्रेनको बाखमुतमा युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए ।
अन्य तीन जनाको समेत युक्रेनी भूमिका युद्धकै क्रममा मृत्यु भएको जानकारी रुसी सेनाले दूतावासलाई गराएको हो । परिवारसँग सम्पर्क भएपछि तीनै जनाको डेथबडी ल्याउने गृहकार्य अघि बढेको छ । त्यसका लागि दूतावासले नै समन्वय गरेर अघि बढिरहेको छ ।