विदेशी लगानीकर्ता आजियाटा दूर सञ्चार कम्पनी एनसेलबाट बाहिरिन लागेको छ । आजियाटा समूहको सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने घोषणा गरेको हो ।
‘हामीलाई लाग्छ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन्, आजियाटाले भनेको छ, ‘हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन्।’घाटामा गए पछि आफ्नो व्यवसाय विस्तार हुन नसकेको आम्दानी खुम्चिएकाले आजियाटाले सेयर बिक्री गर्न लागेको बताइएको छ। एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको एनसेलको आम्दानी घटेको छ। सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार भएको कम्पनीले जनाएको छ। एनसेलको कारोबार निरन्तर घट्दै गएको थियो। सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। त्यसपछि क्रमश घट्दै गएपछि लगानीकर्ताले सेयर बेच्ने निर्णयमा पुगेको हो।
एनसेलको स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चरले नै बाँकी सेयर किन्ने सम्भावना रहेको बताइन्छ । सुनिभेरा क्यापिटल सतिशलाल आचार्य र सचिनलाल आचार्यको स्वामित्वमा रहेको छ ।
एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हार्डको ८० प्रतिशत सेयर रहेको छ भने बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ। नेपालमा एनसेलबाहेक आजियाटाको मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंग्लादेश, कम्बोडिया र इन्डोनेसियामा पनि दूरसञ्चार कम्पनीमा लगानी रहेको छ । आजियाटा ग्रुपका अन्य डिजिटल उद्यमहरुमा लगानी र सञ्चालन छ ।