पूर्व एआइजी रण बहादुर चन्दले बिहेको सहमति नभएको भन्दै पत्रकार सम्मेलन गरेपछि तारा बरालले गोप्य अडियोहरु सार्वजनिक गरेकी छिन् । पिएचडी गरेका चन्दले मिडिया छक्याउन च्याप्चे गरेको अभिव्यक्ति दिएपछि बरालले कानुनी लडाइ लड्ने चेतावनीसहित आफ्नै फेसबुक अकाउन्टमार्फत चन्द र टिका योगी नामक महिलासँग भएको संवाद सार्वजनिक गरेकी हुन् ।
चन्दले बिहीबार तारा बरालले हनी ट्रयापिङ गरेको भन्दै रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेका थिए । बिहे गर्ने सहमति भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको कागज पनि नपढेको उनको दाबी छ । चन्दले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो बिहे गर्ने कुरै थिएन, मैले बिहे गर्ने इच्छा राखेको भए हामीले कागज नै गर्नुपर्दैन्थ्यो । कोठामा बनाएको कागज वैध पनि होइन । हाम्रो चरित्रहत्या भएपछि त्यसको प्रतिकार गर्न बनाइएको कागज हो ।’
चन्दले तारालाई बिहेको सहमति भएको भन्दै प्रमाण जुटाउनतिर नलाग्न र आफू पुरानै अवस्थामा फर्कन चेतावनीसमेत दिएका छन् ।