काठमाडौं भन्नेबित्तिकै धुँवा, धुलो र फोहोरको झल्को आउने मान्छेहरुले पनि बालेन साह मेयर बनेपछि सोच परिवर्तन गर्न थालेका छन् । बालेन मेयर बनेपछि काठमाडौं महानगरपालिकाको विकासमा क्रमभंग भएको छ । अवैध संरचनाहरु भत्काउने, वृक्षारोपण गर्ने लगायत शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात र सुशासनको क्षेत्रमा उनी आएपछि काठमाडौँतिर अन्तर्राष्ट्रिय जगतको समेत ध्यान तानिएको छ । विश्वकै चर्चित म्यागाजिन टाइमले बालेनलाई उदयीमान व्यक्तिको सूचीमा राखेको छ ।
कार्यालयमा कस्तो छ बालेनको दैनिकी ?
बालेन बिहान ९–१० बजे नै कार्यालय पुगेर बेलुकी ६–७ बजेसम्म बस्ने गरेका छन् । । अनावश्यक बाहिरी कार्यक्रममा नहिँड्ने भएकाले पनि उनको धेरै समय कार्यालयमै बित्ने गर्छ। महानगरका सबै विभाग काठमाडौं प्लाजाको एउटै छानामुनि सरेपछि समन्वय तथा निर्णयमा समेत सहजता भएको छ ।
उनी आफ्नो एजेन्डा तथा निर्णयका सवालमा कर्मचारी, वडाध्यक्ष, विभागीय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल तथा बैठक बस्छन् । अत्यावश्यक परे मात्रै उनी कर्मचारीसँग बैठक बस्छन् ।
महानगर स्रोतले भन्यो उहाँले सामान्य भेटघाटका लागि मात्रै कर्मचारीलाई समय दिनुहुन्न, दिनमा पढेर र योजनामा काम गरेर बस्नुहुन्छ,’ बालेनलाई दैनिक भेट्न आउनेको संख्या दुई सयभन्दा धेरै हुन्छ । योजना बोकेर आउने विज्ञ, कूटनीतिक व्यक्तिलगायतलाई भने भेट दिन्छन् । पछिल्ला दिनमा उनले दैनिक ८–१० जनासँग भेट गर्ने बताइएको छ ।
निर्वाचित हुनुअघि बालेनले काठमाडौँको फोहोर व्यवस्थापन, संस्कृति संरक्षण, सीप विकासका साथै रोजगारीको एजेण्डा स्थानीयसामु प्रस्तुत गरेका थिए । कार्यकालको अझै लामो समय बाँकी रहेकाले २०८४ को चुनावमा बालेन फेरि मेयरमै उठ्छन् वा पार्टी गठन गर्छन हेर्न बाँकी नै छ । सामाजिक सञ्जालमा मात्रै होइन उनको कट्टर स्वभाव र देशभक्तिको भावनालाई कतिपय पाटीकै नेता कार्यकर्ताले पनि मन पराउने गरेका छन् ।