प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा उडेका छन् । यसपछि उनी स्विट्जरल्यान्ड उड्ने तयारी भइरहेको छ। असंलग्न आन्दोलनको १९औं शिखर बैठकमा भाग लिन बिहीबार युगान्डाको राजधानी कम्पाला गएका हुन्।
मन्त्रिपरिषद्ले स्वीकृत गर्ने भ्रमणको सम्पूर्ण खर्च सरकारले नै बेहोर्छ। सरकारले पाँचवटा वर्ग छुट्ट्याएर विदेश भ्रमण भत्ता निर्धारण गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ‘अति विशिष्ठ तह’मा निर्धारण गरिएको छ।
उनीहरूले प्रतिदिन २ सय ५० अमेरिकी डलर भत्ता पाउँछन्। युरोप, अमेरिका, क्यानडा, कोरिया, जापानलगायतका देशको भ्रमण गर्दा ३३ प्रतिशत थप भत्ता पाउँछन्। सचिवहरूले २ सय २५ र सहसचिवहरूले १ सय ७५ अमेरिकी डलर भ्रमण भत्ता पाउँछन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख खर्च भएको देखिएको थियो । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको विदेश भ्रमणमा भएको खर्चको भुक्तानी दिएको छ।
नेपालमा नेताहरु तथा राज्यको जिम्मेवार तहमा रहेका व्यक्तिले कति तलब लिन्छन भन्ने चासो राख्नु स्वभाविक पनि हो । ज्यालादारी गर्ने तथा विशिष्ट तहमा रहने सबैले कसको तलब कति भनेर जिज्ञाँसा राखेको हुन्छ । यसको जवाफ स्वरुप हामीले विशिष्ट व्यक्तिले सरकारबाट मासिक कति रुपैयाँ तलब बापत लिन्छन् भनेर खोजेका छौं ।
कसको तलब कति ?
नेपालमा मर्यादाक्रमा सबैभन्दा ठूलो सरकारी पद राष्ट्रपति हो । राष्ट्रपतिले मासिक १ लाख ५१ हजार र र उपराष्ट्रपतिले १ लाख ८ हजार रुपैया पारिश्रमिक पाउँछन्। प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ छ।
उनीहरुले यसबाहेक बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवालयलगायत सेवासुविधा पाउने गर्छन्। प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७७ हजार २८० रुपैयाँ रहेको छ। त्यस्तै, महंगी भत्ता २ हजार, इन्धन ९पेट्रोल० मासिक ३०६ लिटर र मोविल वार्षिक ४० लिटर, सञ्चार सुविधा मासिक ५ हजार, मासिक मसलन्द तथा अतिथि सत्कार १० हजार, दैनिक भ्रमण भत्ता प्रतिदिन ३ हजार रुपैयाँ रहेको छ। त्यस्तै, प्रधानमन्त्रीको सचिवालयमा ३५ सदस्यसम्म रहन्छन् ।
यस्तै, सर्वोच्च अदालतका प्रधान न्यायाधीशको मासिक तल १ लाख २ हजार २९३ रहेको छ भने न्यायाधीशको ८५ हजार ४३ रहेको छ । प्रतिनिधिसभा सदस्यले मासिक पारिश्रमिकका रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै मासिक रुपमा विशेष भत्ता बापत एक हजार रुपैयाँ, सञ्चार सुविधाबापत तीन हजार रुपैयाँ र धारा, पानीको नाममा दुई हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् ।
त्यस्तै आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले नौ हजार रुपैयाँ मात्र पाउँछन् । सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ । सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ताबापत एक हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतका लागि भनि थप एक हजार रुपैयाँ पाउनेछन् ।
थप सुविधाका रुपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिनेछ । सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरे दैनिक भ्रमणभत्ता बापत दुई हजार पाँच सय रुपैयाँ पाउनेछन् । विदेश भ्रमण गर्नु परेमा प्रतिदिन २२५ डलर पाउनेछन् ।