काठमाडौं- कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही(३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका(१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त(४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
यस्तै, भीमदत्त नगरपालिका(१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त(२ का सुदीप भट्ट र भीमदत्त(९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।