काठमाडौँ- झुटो बयान दिएर फसाइएका नागरिक पत्रका सञ्चालक गोकर्ण प्रशाद जोशीलाई निर्दोष साबित गर्दै काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको छ । एक अभिनेत्रीको चरित्र हत्या गरेको अभियोगमा पक्राउ परेका डिल्लीराम खनालले गत बर्ष न्यू अनलाइन टिभी नामक युट्युबमार्फत आफ्नो अन्तर्वार्ता लिएको भन्दै जोशीमाथि झुटो आरोप लगाएका थिए ।
एक अभिनेत्रीको चरित्र हत्या गरेको अभियोगमा बिहीबार न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले खनाललाई अदालतले दोषी ठहर गरेको हो । अधिकारीको इजलासले कसुर ठहर गर्दै सजाय निर्धारणका लागि २७ फागुनको पेसी तोकेको छ। विद्युतीय कारोबार ऐन, २०६३ अनुसार महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
खनालले नागरिक पत्रका गोकर्ण प्रशाद जोशीलाई न्यू अनलाइन टिभी नामक युट्युब च्यानलको सञ्चालक भन्दै झुटो बयान दिएका थिए । डिल्लीरामको बयानपछि साइबर ब्युरोले अन्तरवार्ता प्रकाशित च्यानलको विस्तृत विवरण र अध्ययन अनुसन्धान नै नगरी नागरिक पत्रका जोशी विरुद्ध समेत मुद्धा अघि बढाएको थियो ।
ज्ञातव्य छ: डिल्लीराम खनालसँग जोशीको कुनै चिनजान, भेटघाट र अन्तर्वार्ता समेत लिएका छैनन् । डिल्लीरामको उक्त विवादास्पद अन्तर्वार्ता लिने न्यु अनलाइन टिभी नामक युट्युब च्यानलका सञ्चालक साहिल केसी भनिने सुशील बहादुर केसी हुन् ।