काठमाडौं महानगरपालिकाका नगर प्रहरीबाट कुटिएका पत्रकार राष्ट्रिय सभागृह अगाडि रिले अनशनमा बसेका छन् । काठमाडौं महानगरपालिका र फुटपाथ व्यवसायीबीच झडपका क्रममा कुटिएका पत्रकारलाई न्यायको माग गर्दै अस्तिदेखि अनशन शुरु भएको हो ।
घाइते प्राणमञ्च मासिक तथा डटकमका प्रधानसम्पादक पदमप्रसाद पोखरेलसहित झण्डै एक दर्जनको टोली धर्नामा बसेको छ । श्रमजीवी पत्रकार संघ,नेपालको अगुवाईमा भइरहेको धर्नामा उपस्थित पत्रकारहरुले घाइते पत्रकार पोखरेलको स्वास्थ्य उपचारको ग्यारेन्टी लिन,जफत गरिएको सामान फिर्ता गर्न,प्रेस स्वतन्त्रता र अभिव्यक्तिको रक्षा गर्नलगायतका माग राखेका छन् । तर,तीन दिन बितिसक्दा पनि महानगरले बेवास्ता गरेको पत्रकार पोखरेलको गुनासो छ ।
गत फागुन १६ गते सुन्धारामा भएको महानगर प्रहरी र व्यवसायीबीच झडपको रिपोर्टिङ्ग गर्न पुगेका पोखरेलमाथि आक्रमण भएको थियो । महानगर प्रहरीले उनलाई मरणासन्न हुनेगरी पिटेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका उनले न्याय र क्षतिपूर्तिका लागि महानगरमा निवेदन दिएका थिए । उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको ध्यानाकर्षण पनि गराएका थिए ।