पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
पूर्वसभामुख समेत रहेका महरा भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि लागेको छ।
६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुगेको छ। यसअघि सीआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागज मात्रै गराएर छाडेको थियो। सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन्।