गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भइसकेको भन्दै सामाजिक सञ्जालमार्फत झुटो प्रचार गर्दै हिडेका डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । अन्तरवार्ताको क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्नु प्रहरीलाई निर्देशन दिएको स्रोतको दाबी छ ।
उनले झुठा कुरा फैलाएको आरोप छ । उनीबिरुद्ध विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खनाल अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या हुनेगरी न्यू अनलाइन टिभी नामक यट्युबमार्फत दिएको अन्तर्वार्ताका कारण साइबर क्राईमकै मुद्दामा गत फागुन २७ गते दोषी ठहर भएका थिए । त्यसपछि सेनाको बिषयमा विवादित र भ्रमपूर्ण कुरा बोलेर उनी धरौटीमा छुटेका थिए ।
उनले नागरिक पत्रका सञ्चालक गोकर्ण प्रशाद जोशीलाई न्यू अनलाइन टिभी नामक यट्युबको सञ्चालक भन्दै झुटो बयान पनि दिएर निर्दोष व्यक्तिलाई फसाएका थिए ।