नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि त्यसमा भारतले असन्तुष्टि जनाएको छ । भारतले नेपालको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुनेसमेत दाबी गरेको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका हुन्। सोही विषयमा भारतीय एक पत्रकारको जिज्ञासामा विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’
उनले अगाडि थप भने, ‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ । यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ । अर्कोतर्फ गरिएको निर्णयले उनीहरूले हामीबिचको अवस्था र जमिनी वास्तविकता परिवर्तन गर्न सक्दैनन् ।’
नेपाल सरकारले हालै सय रुपैयाँको नोटमा भारतबाट अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्न राष्ट्रबैंकलाई अनुमति दिने निर्णय गरेको थियो। जयशंकरलाई दिल्लीको एक पत्रकार सम्मेलनमा शनिबार नेपालको सो निर्णयबारे प्रश्न सोधिएको थियो।
‘हाम्रो अडान स्पष्ट छ। हामी सीमासम्बन्धी विषयमा स्थापित संयन्त्रमा छलफल गरिरहेका थियौँ। त्यसको बीचमा उनीहरुले एकपक्षीय रुपमा केही कदम चाले। त्यसले हामीबीचको स्थिति र जमिनको यथार्थ बदल्ने छैन,’ जयशंकरले नेपालले जारी गरेको नयाँ नक्सातर्फ समेत संकेत गर्दै भने।
नेपालले २०७७ मा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ जारी गरेको थियो। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको थियो।