सामाजिक सञ्जालमा भाइरल पुण्य गौतमले नागरिक पत्रका सञ्चालक गोकर्ण प्रशाद जोशीलाई सरकारले पक्राउ गर्न लागेको धम्की दिएका छन् । गत साउन १० गते रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अधिवक्ता स्वागत नेपालले बोलेको विवादित कुरा प्रसारण गरेको भन्दै नागरिक पत्रलाई प्रेस काउन्सिलले स्पष्टीकरण सोधेकै बेला आफू एमालेकै मान्छे बताउने गौतमले यस्तो धम्की दिएका हुन् ।
‘केही निकायले केपी ओलीको कट्टर विरोधीको रुपमा तपाईलाई हेरेका छन् । तपाईको नाम प्रेस काउन्सिलमा मात्रै छैन । अन्त पनि छ।’, उनले भने, ‘अहिले ७ जना युट्युबर अहिले पक्राउ परेका छन् । नछुट्नेगरी । तपाई सजग बस्नुहोला !’
उनले आफू केपी ओलीबाट सञ्चालित व्यक्ति भएको पनि बताएका छन् । उनले आफूले सिँधै ओलीलाई रिर्पोटिङ गर्ने पनि बताएका छन् । उनले चेतावानी दिँदै भने, ‘तपाईलाई एकदम टार्गेट गरेका छन् ।’
गौतमले ओलीविरुद्ध समाचार लेखे चुपचाप पक्राउ गर्नेसमेत चेतावनी दिए। उनले आफूलाई तुरुन्त भेट्न र भेटको कुरा कसैलाई नबताउन पनि आग्रह गरे ।
पत्रकार सम्मेलनमा बोलेको सामग्री हटाउन प्रेस काउन्सिलको निर्देशन
यता, प्रेस काउन्सिल नेपालले रिपोटर्स क्लब नेपालमा गत साउन १० गते आयोजित पत्रकार सम्मेलनमा अधिवक्ता स्वागत नेपालले बोलेको भिडियो डिलिट गर्न नागरिक पत्रलाई निर्देशन दिएको छ । स्मरणीय छः पत्रकार सम्मेलनमा बोलेको कुराको जिम्मेवारी स्वयं वक्ताले लिनुपर्छ । अधिवक्ता नेपालले आफैँले नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्ने नेताहरुलाई मृत्युदण्ड दिनुपर्ने बताएका थिए ।
उनले भने, ‘नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्नेहरुलाई मृत्युदण्ड दिनैपर्छ । म भर्खरै जिल्ला भ्रमणबाट आएको छु, अरु जिल्ला पनि पुगेको छु । कारागार पनि भ्रमण गरेर आएँ । हरेक मान्छे भन्छन्–यी नेता नमरी देश बन्दैन । तर, कहिले मर्छन् भनेर कुरेर पनि बन्दैन । मार्न पर्छ, त्यो भनेको मृत्युदण्ड दिएर मार्नुपर्छ । हिजो गरिबको छोराछोरी मारेजस्तो होईन, कानुन बनाएर मार्नुपर्छ । म त्यसको पक्षमा छु ।’
उनले बोलेको यही अभिव्यक्ति प्रसारण गरेको भन्दै नागरिक पत्रलाई काउन्सिलले २४ घण्टे स्पष्टीकरणसहित भिडियो डिलिट गर्न निर्देशन दिएको हो । तर, आश्चर्यजनक कुरा के छ भने काउन्सिलले सोही भिडियो प्रसारण गर्ने अरु केही चर्चित मिडियाहरुलाई भने केही पनि सोधेको छैन । भिडियो अरु केही मिडियाबाट लाइभ समेत भएको थियो । निर्देशन पालना गर्दै हामीले भिडियो हटाइदिएका छौ