सामाजिक सञ्जाल फेसबुकमा ह्याकरहरुको आतंक बढेको छ । इन्टरनेट फ्री गरिदिने, खातामा पैसा पठाइदिने लगायतका प्रलोभनमा पारि अपरिचत व्यक्तिले फेसबुक आइडी ह्याक गरी साथीहरुलाई म्यासेज पठाउन थालेपछि सर्वसाधारण हैरान भएका छन् ।
यस्तै ठगी र आतंकको सिकार भएका छन्, श्री जोशीबङ्गा माध्यमिक विद्यालय लमौताका शिक्षक हंश राज जोशी । जोशीलाई चिनजान भएकै लाल चन्द नाम गरेको फेसबुक आइडीबाट म्यासेज गरी ईन्टरनेट फ्री गरिदिने र मोबाइल नम्बर दिन भनिएको छ । यस्तो प्रलोभनमा पारेर अहिले ह्याकरले इमेल र ओटीपी कोड आउने मोबाइल नम्बर नै परिवर्तन गरी आइडी नै नखुल्ने बनाएको र अरुलाई पनि सोही आइडीबाट म्यासेज गरिरहेको खुलेको छ ।
‘लाल चन्दजी बैतडी क्रिकेट संघको पूर्वअध्यक्ष हो । मेरो राम्रो चिनजान छ । चिनेकै मान्छे भएकाले इन्टरनेट फ्री गरिदिन्छु भनि म्यासेज पठाएपछि पत्याइहाले । अहिले आइडी नै खुलिरहेको छैन’, जोशीले भने ।
जोशीले आफ्नो सो आइडीबाट म्यासेज आएको खण्डमा रिप्लाइ नगर्न आग्रह गरेका छन् । घटनाको सम्बन्धमा जोशीले साइबर ब्युरोमा उजुरी दिने तयारी गरिरहेको नागरिक पत्रलाई बताए ।