हिल्स होम थिएटर एण्ड प्रोडक्सनको प्रस्तुतिमा लोकप्रिय कलाकारद्वय विपिन घिमिरे र शिला विष्टको युगल स्वरमा रहेको प्रेमगीत ‘देउता चढ्छन् जिउमा’ सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी गीत लोकार्पण गरिएको हो ।
टेलि सिरियल, प्रहसन, नाटक र लोक नृत्यहरुको प्रशिक्षण, प्रदर्शन, म्युजिक भिडियो, वृत्तचित्र निर्माण तथा प्रारम्भ खबर संचालन गर्ने उद्देश्यका साथ हालै एकीकृत भएका सत्कार मिडिया र हिल्स होम थिएटर एण्ड प्रोडक्सनको संयुक्त प्रयासमा यो म्युजिक भिडियो निर्माण गरिएको हो ।
मदन थापा, निहारिका थापा, गोविन्द विश्वास र बिना बिश्वकर्माले नृत्य अभिनय गरेको गीतको भिडियोमा मदन थापाको शब्द, विपिन घिमिरेको सङ्गीत, पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन र गोविन्द सोनीको मिक्सिङ्, माष्टरिङ् रहेको छ ।
भिडियोमा भगिरथ गाहाको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन छ । जसमा ओमप्रकाश अवस्थी (ईश्वर) को सिनेमाटोग्राफी र सम्पादन रहेको छ । भिडियोमा प्रेमी प्रेमिका बीचको प्रेम र समर्पण भावलाई उजागर पारिएको छ ।
वरिष्ठ निर्देशक तथा रंगकर्मी प्रभाकरदेव शर्माले कार्यक्रममार्फत यस्तै गीत, टेलिसिरियल, डकुमेन्ट्री, चलचित्र निकाल्दै जाने र गरिब तथा विपन्नको सहयोगसमेत गर्ने बताएका छन् ।