राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि सहकारी ठगी, कालोधन आर्जनलगायतका मुद्दामा सरकार पक्षले २१ वर्ष जेल सजाय हुनुपर्ने दाबी गर्दै प्रतिवेदन तयार पारेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुअघि नै संगठित अपराध, ठगीमा संलग्न रहँदै आएका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि पनि आफ्नो ठगी धन्दालाई निरन्तरता दिँदै आएको पाइएको काठमाडौं प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पोखरापछि काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। प्रहरीले बुझाएको प्रतिवेदनमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्दै लामिछानेको संलग्नता रहेको सहकारी ठगीमा ७ वर्ष जेल सजाय हुनुपर्ने रायसमेत पेस गरेको छ। सहकारी ठगीमा सात वर्ष भए पनि कालोधन आर्जनलगायतका मुद्दामा गरी २१ वर्षसम्मको जेल सजायको माग दाबी गरिएको हो।
जिल्ला अदालत कास्कीमा लामिछानेसहितको ठगी मुद्दामा बहस सकिएपछि अहिले थुनछेक बहस शुरू भइरहेको बेला जिल्ला अदालत काठमाडौंमा समेत सोही प्रकृतिको ठगी मुद्दामा कारबाही अघि बढ्ने भएको हो। काठमाडौं जिल्ला प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरेको सो कार्यालयका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिनुभयो।
काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपियाँ अपचलनमा लामिछानेसहित ४४ जनाको संलग्नता रहेकाले कारबाही अघि बढाउन पनि सरकारी वकिललाई राय दिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।