काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआईं) लाई आफ्नो निर्णयबारे जानकारी गराएको केही दिनपछि उनी टेस्ट क्रिकेटबाट बाहिरिएका हुन्।
विराटले लेखेका छन्- ‘१४ वर्षअघि मैले टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको थिए । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइन कि यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ । यसले मलाई परीक्षा दियो, मलाई परिभाषित गर्यो र मलाई जीवनभर साथमा बोक्ने पाठहरू सिकायो । सेतो जर्सीमा खेल्नु मेरो लागि एकदमै विशेष र व्यक्तिगत अनुभव हो । कडा परिश्रम, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैनन्, तर ती सधैंभरि मसँगै रहनेछन् । म यो ढाँचाबाट टाढा जाँदै गर्दा, यो सजिलो छैन, तर अहिले यो सही लाग्छ । मैले यसमा मेरो सबैथोक दिएको छु र यसले मलाई अपेक्षा गरेको भन्दा बढी दिएको छ । म खेलको लागि, मैदानमा रहेका मानिसहरूको लागि र यो यात्रामा मलाई साथ दिने सबैको लागि आभारी छु । म मेरो टेस्ट करियरलाई सधैं मुस्कानका साथ फर्केर हेर्नेछु ।’ विराटले पोष्टको अन्त्यमा आफ्नो जर्सी नम्बर ‘२६९’ र ‘साइन अफ’ लेखेका छन् ।
उनले भारतका लागि ६८ वटा टेस्ट खेलमा कप्तानी गरे । जुन कुनै पनि भारतीय कप्तानले टेष्टमा कप्तानी गरेको धेरै हो । तीमध्ये केवल १७ खेल (२५ प्रतिशत) मात्र हारेका थिए । ५८.८२ प्रतिशत जित (४० जित, ११ बराबरी) सहित कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तानका रूपमा चिनिन्छन् ।अब विराटले एकदिवसीय क्रिकेट खेल्ने छन् । टी-२० अन्तर्राष्ट्रियबाट उनले यसअघि नै सन्यास लिएका थिए ।