काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सोमबार रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध छ ।
अलपत्र परेका यात्रुहरुको प्रहरीले उद्धार गरेको जनाएको छ । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।
सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ ।

