काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष सियाओ जी चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच लामो समयदेखि मित्रवत् र समस्यारहित एवं हार्दिक सम्बन्ध रहीआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्र रूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रसन्न रहेको बताए ।
उपसभामुख इन्दिरा रानाको औपचारिक निमन्त्रणामा नेपाल आएका सियाओले काठमाडौं बसाइँको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर लगायतसँग भेट गर्नेछन् । सियाओको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रिभोज पनि आयोजना गर्ने छिन् ।