कालोपत्रे सडक निर्माणमा चालू आर्थिक वर्ष (आव) ०७७/७८ को प्रगति सुस्त देखिएको छ । चालू आवको ८ महिनामा ५ सय ५० किलोमिटर मात्र कालोपत्रे भएको छ । यो लक्ष्यको ३० दशमलव ५५ प्रतिशत मात्रै हो । चालू आवमा कुल १ हजार ८ सय किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको लक्ष्य छ ।
दोस्रो चौमासिकमा कुल ६ सय १३ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिए पनि ३ सय ६ किलोमिटर मात्र उपलब्धि भएको सडक विभागको तथ्यांक छ । यो दोस्रो चौमासिक लक्ष्यको ५० प्रतिशत मात्रै हो । सरकारले तय गरेको वार्षिक लक्ष्य यो वर्ष पूरा गर्न नसकिने विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
उनका अनुसार यो वर्ष लक्ष्यको ७५ प्रतिशत काम सम्पन्न हुनेछ । मन्त्रालयगत बजेट सूचना प्रणालीका कारण बजेट कार्यान्वयन ढिलाइ भएका कारण प्रगति अपेक्षित नभएको उनको भनाइ छ । चालू आवमा सरकारले ग्राभेलस्तरको सडक निर्माणमा पनि लक्ष्यको आधा मात्रै काम गर्न सकेको छ ।
चालू आवमा कुल १ हजार किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य राखेको सरकारले हालसम्म ५ सय ४ किलोमिटर मात्रै ग्राभेल गरेको छ । यो वार्षिक लक्ष्यको ५० दशमलव ४० प्रतिशत हो । दोस्रो चौमासिकमा कुल ४ सय १० किलोमिटर सडक ग्राभेल गर्नुपर्नेमा ३ सय २७ किलोमिटर मात्र ग्राभेल भएको छ ।
माटे (ट्रयाक खोल्ने) सडक चालू आवमा ५ सय किलोमिटर थप गर्ने लक्ष्य छ । त्यसमध्ये फागुनसम्ममा २ सय ८४ किलोमिटर मात्र माटे सडक खोल्ने काम भएको छ । यो वार्षिक लक्ष्यको ५६ दशमलव ८० प्रतिशत हो । दोस्रो चौमासिकमा मात्र १ सय ९९ किलोमिटर माटे सडक खोल्ने लक्ष्य राखिएकोमा १ सय ४२ किलोमिटर मात्र लक्ष्य प्राप्त भएको छ ।
सडक विभागले उपलब्ध गराएको तथ्यांकअनुसार कालोपत्रेस्तरको सडक पुनर्निर्माण र पुनस्र्थापनामा भने राम्रो प्रगति देखिएको छ । चालू आवभित्र कुल ३ सय ३४ किलोमिटर कालोपत्रेस्तरको सडक पुनर्निर्माण रपुनर्स्थापना गर्ने लक्ष्य रहेकोमा पहिलो ८ महिनामै ३ सय किलोमिटर (८९ दशमलव ८२ प्रतिशत) प्रगति भइसकेको छ ।
‘वर्षको समाप्तिसम्ममा शतप्रतिशतभन्दा धेरै प्रगति हुनेछ,’ महानिर्देशक थापाले भने । आवधिक मर्मतमा भने सबैभन्दा न्यून प्रगति देखिएको छ । चालू आवभित्र ७ सय २९ किलोमिटर सडकको आवधिक मर्मत गर्ने लक्ष्य राखिएकोमा पहिलो ८ महिनासम्ममा १ सय ८७ किलोमिटर मात्र मर्मत भएको छ ।
यो वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत हो । आवधिक मर्मतमा पनि न्यून प्रगति हुनुमा वैदेशिक लगानीको रकम रहेको र उनीहरूको प्रक्रियागत ढिलाइले प्रगति न्यून भएको महानिर्देशक थापाले स्वीकार गरे । चालू आवमा सरकारले ३ सय पुल निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।
तर, फागुनसम्ममा १ सय २९ पुल निर्माण सम्पन्न भएको छ । यो कुल लक्ष्यको ४३ प्रतिशत हो । दोस्रो चौमासिकमा १ सय ४० पुल निर्माण सक्ने लक्ष्य राखिएकोमा ९४ वटा सम्पन्न भएका छन् । पुल निर्माणमा पनि यो वर्ष लक्ष्य प्राप्त नहुने महानिर्देशक थापाले बताए । ‘यो वर्ष कुल २ सय ५० पुल निर्माण हुनेछन्,’ उनले भने ।
चालू आर्थिक वर्षमा सडक विभागलाई विनियोजन गरेको कुल १ खर्ब ८ अर्ब ३९ करोड रुपैयाँमध्ये फागुनसम्म ३० अर्ब १७ करोड रुपैयाँ मात्र खर्च भएको छ । यो वार्षिक विनियोजनका आधारमा २७ दशमलव ८४ प्रतिशत मात्र हो । तर, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले अहिलेसम्म ४० अर्ब रुपैयाँभन्दा धेरै खर्च भइसकेको जानकारी दिए ।