काठमाडौं ।अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ । गत हप्ता, ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । हार्बर्डमाथि चिनियाँ पक्षसँग साँठगाँठ गरेको र यहुदीविरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाइएको थियो । यद्यपि, एक संघीय न्यायाधीशले यो निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन् ।
मंगलबार अमेरिकी सञ्चारमाध्यमहरूले ट्रम्प प्रशासनले हार्बर्डसँगको बाँकी संघीय सम्झौता पनि चाँडै तोड्ने योजना बनाएको उल्लेख गरेका छन् । यदि यो सम्झौता रद्द भएमा, यो हालसम्मकै सबैभन्दा ठूलो कदम हुनेछ ।
हालै ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति फिर्ता लिएको थियो, जसको कारण विश्वविद्यालयको फिलिस्तीन समर्थन प्रदर्शनप्रति देखिएको धारणा र विविधता कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ।
यद्यपि, सो निर्णयलाई हाल एक संघीय न्यायाधीशले अस्थायी रूपमा रोक लगाएका छन् । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले सो ज्ञापनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि भनिन्, ‘देशमा को प्रवेश गर्छ भन्ने विषयमा हामी अत्यन्त गम्भीर छौँ।’