प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै ओलीले पार्टीभित्र हुने गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए ।
उनले पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने बताए । उनले अनुशासित भएर पार्टीमा काम गर्न खनाल नेपाल समूहलाई आग्रह पनि गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् । उनले नेताहरूलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको भन्दै त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिए ।
पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूसँग एक्ला–एक्लै छलफल गर्दै आइएका छन् । हिजोमात्रै उनले माधव नेपाल र योगेश भट्टराईसँग छलफल गरेका थिए। यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । ओलीले बिहीवार नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् ।
बल्खुमा रहेको कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको हो ।