नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस् भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर व्यक्तिगत तवरमा कुरा गर्ने, उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता नहुने बताउनु भयो । प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न चेतावनी समेत दिनु भएको छ ।
उहाँले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले बुधवार साँझमात्र माधव नेपालसँग एक्लै वार्ता गर्नु भएको थियो । उहाँले उक्त वार्तामा पनि समूहगत छलफल नहुने र गुटको भागबण्डा नगर्ने बताउनु भएको थियो । दुई नेताबीच आज पनि वार्ता हुने बताइएको छ ।