काठमाडौँ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन् ।तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो। मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो ।
गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।
सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।