काठमाडौँको खुला मञ्चमा रहेको सिटी बसपार्क वैशाख १५ गतेदेखि हटाइने भएको छ । बिहीबार काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीच सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
खुल्ला मञ्च खाली गराएर त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । खुृलामञ्चबाट चल्दै आएका सार्वजनिक सवारीलाई दुई वटा विकल्प दिइएको छ ।
ज्ञवालीकाअनुसार अबदेखि टिकट काटेर सञ्चालन हुने सवारीहरु गोङ्गबु बसपार्कबाट सञ्चालन हुनेछन् । छोटो दुरीका सवारी भने ‘पिक एन्ड ड्रप’ प्रणलीबाट चल्नेछन् । ‘‘टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बसपार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दुरीका सवारी पिक एन्ड ड्रप प्रणालीबाट चल्नेछन् ।
पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका लागि सार्वजनिक सूचना प्रकाशन गरिनेछ,” ज्ञवालीले भने, “यसका आधारमा यातायात सञ्चालकहरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।” साबिकको पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि निश्चित अवधिका लागि त्यहाँबाट चल्ने सवारी साधनलाई खुलामञ्चमा सारिएको थियो ।