सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे आईपीओ यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ । कम्पनीले सेयर सूचिकरणका लागि सिडिएससीमा निवेदन दिइसकेकाे बताउँदै सेयर रजिष्ट्रार मेगा क्यापिटलले पनि आज नै नेप्सेमा निवेदन पेश गर्ने तयारी गरिरहेकाे सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडका सुदिप खड्काले जानकारी दिएका छन् ।
कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।
कम्पनीकाे आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए ।
गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका थिए । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।
नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १०० रूपैयाँ रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३०० रुपैयाँ हुन्छ ।
यो पनि : निर्यात बढाउने योजना नारामै सीमित, १० महिनामा १० खर्बको व्यापार घाटा ; नेपालको व्यापार घाटा १० महिनामै १० खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको १० महिनामा १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।
यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ४९ प्रतिशतले धेरै हो। दश महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको आयात गरेको छ ।
आयात अघिल्लो वर्षको १० महिनाको तुलनामा १३ दशमलव १२ प्रतिशतले बढेको छ । भारतसँग मात्रै नेपालको ६ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । १० महिनामा नेपालले भारतमा ६८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेकोमा सात खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको छ । यस्तै चीनसँग एक खर्ब ६३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।
दश महिनामा नेपालले खाद्यान्न मात्रै ५९ अर्ब ७३ करोड रुपैयाँको आयात गरेको छ । २८ अर्ब रुपैयाँको फलफूल र तरकारी आयात भएको छ । झण्डै डेढ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, एक खर्ब रुपैयाँको फलाम, ७३ अर्ब रुपैयाँका गाडी र २३ अर्ब रुपैयाँको औषधि भित्रिएको छ ।
सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा देशमै उत्पादन हुने वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने योजना बनाए पनि त्यस्ता योजना नारामै सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।