मेड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण भर्मन गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।
प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको भन्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीलाई निर्देशक मिगेलले क्लबको लामो इतिहास,सफलताका यात्रा र भविष्यका योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सो क्रममा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायतका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
यसअघि प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको जानकारी संसदमा गराउँदा आफूले रियल मड्रिडका अधिकारीहरूलाई भेट्ने बताएका थिए ।
सान्टियागो पुगेर उनले ‘केपी ओली’ लेखिएको जर्सी पनि फहराएका छन् ।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे मड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। आजै राति एक सातादेखिको औपचारिक भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।