नेपाली क्रिकेट टिमलाई शनिबार त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोली नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपालका लागि घरेलु मैदानमा ११ बर्षपछि उपाधि उचाल्ने सुवर्ण अवसरका रुपमा रहेको छ । नेपालले अन्तिम पटक सन् २०१० आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि जितेपछि कुनैपनि प्रतियोगिता जित्न सकेको छैन ।
यो विचमा नेपाल सन् २०१३ मा एसीसी टी २० कपको फाइनलमा पुगेको थियो । तर त्यो बेला अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो । कीर्तिपुर क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा एक बजेबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल विजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो भने नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो ।
नेपालले लिग चरणमा मलेसियाविरुद्ध दुबै खेल जितेको थियो भने नेदरल्याण्ड्सविरुद्ध एक खेलमा जितर एक खेलका हार ब्यहोरेको छ । लिग चरणको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई पनि नौ विकेटले नै पराजित गरेको थियो ।
यस्तै नेदरल्याण्ड्सँग लिग चरणको दोस्रो खेलमा तीन विकेटका हार ब्यहोरेको थियो भने अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यता नेदरल्याण्ड्सले नेपालसँग एक खेल हार्दा मलेसियाविरुद्ध एक खेलमा १५ रनको जित निकालेको थियो भने अर्को खेल टाइ भएको थियो ।
यो प्रतियोगितामा दुई खेलमा एक जित र एक हारपछि नेपालले टी २० क्रिकेटमा हेड टु हेडमा चार तीनको अवस्थामा रहेको छ । शनिबार हुने खेलमा नेपालले जितेर लिग चरणमा ब्यहोरेको हारको बदलापनि लिने योजनामा छ । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको उपाधि जित्ने संभावना बलियो रहेको बताए ।
यस्तै उनले नेदरल्याण्ड्स टिममा तीन मुख्य खेलाडी नहुँदापनि अझै राम्रो गरिरहेको र फाइनलमा उसलाई सहज रुपमा लिन नहुने बताए । यसका साथै उनले यो प्रतियोगितामा नेपालले राम्रो खेलिरहेको र पिचपनि राम्रो रहेकाले फाइनलमा पिचको कन्डिसन कस्तो हुन्छ भन्ने पनि रहेको धारणा राखे ।
यस्तै उनले फाइनलमा नेपाली टिममा केहि परिवर्तन हुन सक्ने संभावना रहेको बताए । नेपालले मलेसियाविरुद्धको खेलमा सेटमा दुई खेलाडी परिवर्तन गरेको थियो । फाइनलमा पनि टिममा एक वा दुई खेलाडी परिवर्तन हुनसक्ने संभावना रहेको छ ।