प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । शनिबार सुन्धरास्थित धरहरा परिषरमा एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले २२ तले धरहराको उद्घाटन गरेका हुन् । धरहरामा रहेको शिलालेख अनावरण गरी प्रधानमन्त्री ओली लिफ्ट मार्फत धरहराको बरन्डामा पुगेका हुन् ।
बरन्डाबाट उनले दृश्यावलोकन गर्दै पुष्प वृष्टि समेत गरे । २०७२ बैशाख १२ को भूकम्पले ९ तले धरहरा भत्किएको थियो । सो भग्नावशेषलाई चिनोका रुपमा राखेर त्यसको नजिकै त्यसकै रुवरुपमा नयाँ धरहरा बनाइएको हो । करिब तीन अर्व ४८ करोडको लागतमा निर्माण भएको धरहराको टुप्पोमा गएको आइतबार गजूर राखिएको थियो ।
धरहराको पुरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ । २२ तले धरहराको जमिनमुनिको भागमा तीनतले पार्किङ पनि बनाइने बताइएको छ । धरहरामा वृद्ध तथा अशक्तहरुका लागि दुई वटा लिफ्ट राखिएका छन् । तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए ।
१९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माणका लागि मेरो धरहरा म आफै बनाउँछु अभियान चलाएका थिए । निर्माणका लागि आर्थिक कोष समेत खडा गरेको थियो । निर्माणको जिम्मा भने नेपाल पुर्ननिर्माण प्राधिकरणले पाएको थियो ।