नेपालका लागि इजरायली राजदूत हनन गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीस्थित एक युवा कृषकको बाख्रा फार्म अवलोकन गरेका छन् । विगत केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत शनिबार तनहुँ पुगेका हुन् ।
बाख्रा फार्म अवलोकनपछि राजदूत गोडरले आलेको बाख्रापालन व्यवसायबाट आफू प्रभावित भएको बताए । युवाहरुले कृषिमार्फत नेपाललाई कसरी परिवर्तन गर्दैछन् भन्नेबारेमा प्रत्यक्ष अवलोकन गर्न पाएको बताउँदै उनले भने, “एउटा युवाले गरेको बाख्रापालनले मलाई मोहित बनायो ।”
उनले कृषि पेशालाई रहर मात्र नभई व्यावसायिक बनाउनुपर्नेमा सुझाव दिए । “कृषि रहर होइन, यो व्यवसाय हो, एउटा बाटो पनि हो”, उनले भने। कृषि अध्ययनका लागि इजरायल पुग्ने नेपाली युवाहरु निकै परिश्रमी भएको राजदूत गोडरको भनाइ थियो ।
कृषक आलेले बाख्रा फार्ममा राजदूत आउँदा आफू एकदमै उत्साहित भएको बताए । “बाख्रापालन शुरु गर्दा कुनै दिन राजदूत आएर गोठको अवलोकन गर्छन भन्ने कल्पनासमेत गरेको थिइनँ”, उनले भने, “राजदूतको आगमनले मलाई हौसला मिलेको छ ।” चार वर्ष अगाडि साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर आएपछि उनले बाख्रापालनलाई व्यावसायिकरूपमा अगाडि बढाएका हुन् ।
पाथर्दीका ६० घरधुरीले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । बाख्रा बेचेर यहाँका कृषकले वार्षिक रु डेढ लाखदेखि २० लाखसम्म आम्दानी गर्न सफल छन् । पाथर्दी गाउँबाट विसं २०७५ चैत १० गते मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ शुभारम्भ भएको थियो । यहाँका स्थानीयवासीले दुई वर्षदेखि घरवाससमेत सञ्चालन गरेका छन् ।