नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसुचकमा उच्च गिरावट आउँदा ५ कम्पनीको शेयर मूल्य भने बढेको छ । आज नेप्से परिसुचक २.८६ प्रतिशत अर्थात् ७५.७९ अंकले घटेको छ ।
नेप्से सो मात्रामा घटेर २५७२.२१ विन्दुमा आएको छ । यसरी उच्च मात्रामा बजार घट्दा पनि ५ कम्पनीको शेयर मूल्य भने बढेको हो । आज महिला लघुवित्त, विशाल बजार कम्पनी कालिका पावर कम्पनी, मिरर्मिरे माइक्रोफाइनान्स र गुडविल फाइनान्सको शेयर मुल्य बढेको हो ।
आज २१५ कम्पनीको शेयर कारोबार भएको थियो । त्यसमा ५ कम्पनीको मात्रा शेयर मूल्य बढेको हो ।आज महिला लघुवित्तको शेयर मूल्य सकरात्मक सर्किट लेभेलमा नै बढेको छ । आज उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर २१३६ रुपैयाँ पुगेको छ ।
यस्तै, बिशाल बजार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३ हजार ८४८ पुगेको छ । यसैगरि कालिका पावरको ३.४५ प्रतिशतले बढेर ३००, मिरर्मिरे माइक्रोफाइनान्सको ३.०५ प्रतिशतले बढेर १ हजार ६५५ र गुडविल फाइनान्सको ०.३८ प्रतिशतले बढेर २६४ पुगेको छ ।
किन ह्वात्तै घट्यो शेयर बजार, यस्तो छ बजार घट्नुको कारण । : कोभिड १९ को संक्रमण र यसको प्रभाव दिन दिनै बढ्न थाले सँगै एक सातामा शेयर बजारमा १६३ घटेको छ । छिमेकी राष्ट्र भारतमा कोभिडले जनजीवन अस्तव्यस्त बनाइरहेको छ ।
खुला सिमानाको कारण नेपालमा पनि भारतको प्रभाव विस्तारै पर्ने सक्ने भन्दै अल्पकालिन लगानीकर्ताले आत्तीएर शेयर बिक्री गर्दा बजार घटिरहेको छ । तेस्रो त्रैमासिमा कम्पनीहरुको वित्तीय विवरण बढेर आउने र बजार बढेको बेलामा बिक्री गर्ने भन्दै बजार प्रवेश गरेका अल्पकालिन लगानीकर्ताबाट पेनिक सेलिङ हुँदा आइतबार एकै दिन नेप्से सूचक ७५ अंकले घट्यो ।
सूचिकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये अधिकाम्सको नाफा बढेको छ ।नाफा बढेकै कम्पनीको शेयर मूल्य घट्न थाले पछि लगानीकर्ताले आत्तीएर शेयर बिक्री गर्न थालेका हुन् ।
बजार बढेको मौका छोपेर पैसा कमाउने अभिलासाले शेयर खरिद गरेका अल्पकालिन लगानीकर्ताले बिक्री गरेको शेयर संस्थागत लगानीकर्ताले खरिद गरिरहेका छन् ।कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै पनि समयमा लकडाउन गर्न सक्ने हल्ला चलिरहेको छ ।
आइतबार काठमाडौं उपत्यका भित्रका जिल्ला प्रशासन कार्यालयले आफ्नो अत्यावस्यक सेवा बाहेक सम्पुर्ण सेवा प्रवाह बन्द गर्ने निर्णय गरेका छन् । तर बजारमा भने जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र अत्यावस्यक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द गर्न लागेको भन्दै हल्ला चलेको थियो ।
यस भन्दा अगाडि लकडाउन हुँदा पनि नेप्से सूचक घटेको थियो । गएको वर्ष भन्दा यस वर्षको कोभिड १९ प्रभाव धेरै पर्न सक्ने अनुमान लगाउदै कतिपय लगानीकर्ताहरु शेयर बिक्री गरेर बाहिरिएका छन् ।
बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीलाई नियम भन्दा बढि लगानी गरेको भन्दै कारबाही गर्ने जनाएको छ । अहिलेको अवस्थामा अधिकाम्स बीमा कम्पनीहरुले नियम भन्दा बाहिर गएर लगानी गरिरहेका छन् । धेरै थोरै सम्पुर्ण बीमा कम्पनीहरुले नियम भन्दा धेरैको शेयर खरिद गरेका छन् ।
जनरल इन्स्योरेन्सको घटनालाई नजर अन्दाज लगाउदै कतिपय बीमा कम्पनीहरुले नियम भन्दा बाहिर गएर खरिद गरेको शेयर पछिल्लो समय बिक्री गर्न थालेका छन् । यसै क्रममा बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको शेयर बिक्री गरिरहेका छन् । बीमा कम्पनीहरुले बीमा समितिको लगानी निर्देशिका भन्दा बाहिर गएर खरिद गरेको शेयर बिक्री गर्दा दोस्रो बजारमा सेलिङ प्रेसर बढिरहेको छ ।
अर्को तर्फ राजनीतिक अस्थिरता पनि उत्तीकै छ । नेकपा एमाले भित्रका माधव कुमार नेपाल पक्ष फुट्ने सम्भावना उच्च रहेको र पार्टि फुट पछि सरकार परिवर्तन हुन सक्ने जोखिम पनि उत्तीकै रहने भएकाले यसको असर शेयर बजारमा परेको छ ।
प्रावधिक विश्लेषकहरुले पनि अधिकतम विन्दु २७३५ अंकबाट २५ सय अंक हाराहारीमा झर्ने विश्लेषण गरेका छन् । उनिहरुका अनुसार कोभिड १९ तथा राजनीतिक अस्थिरताको कारणले बजार २५ सय भन्दा पनि तल झर्ने अवस्था रह्यो भने शेयर बजार २३ सय अंकसम्म तल झर्ने विश्लेषण गरेका छन् ।
तर बजार तल झरेको मौका छोपेर संस्थागत लगानीकर्ताहरुले शेयर खरिद गरिरहेकाले बजार धेरै नै तल झर्न नसक्ने विश्लेषकहरु बताउछन् । बैंशाख जेठ असारमा सरकारको बजेट खर्च बढ्ने र बजारमा पैसा जाने हुँदा यस अवधिमा बैंक तथा वित्तीय संस्थामा तरलता विस्तारै बढ्न थाल्छ ।
अवको केहि समय तरलता बढ्ने भएकाले व्याजदर धेरै नै तल झर्न सक्ने अवस्था रहदैन । व्याजदर नघटे पनि बढ्न नसक्ने अवस्थासम्ममा शेयर बजार बढ्न सक्ने सम्भावना उच्च रहन्छ । तर कोभिड १९ का कारण आम लगानीकर्ता नै त्रसिद भैरहेकाले केहि समय बजारमा सुधार भन्दा पनि गिरावट देखिन सक्ने अर्काथरी विश्लेषकहरु बताउछन् ।
कोभिड १९ को संक्रमित दिन दिनै बढिरहेको र मृत्युदर पनि गएको वर्षमा भन्दा धेरै देखिएकोले पनि लगानीकर्ताहरु त्रसिद भैरहेका छन् । बाच्यो भने बरु कमाउला त्यस भन्दा अगाडि आफ्नो लगानी सुरक्षित बनाएर पैसा जोहो गर्ने मुडमा लगानीकर्ता छन् ।