पछिल्लो समय सुनको मुल्य निरन्तर घटदै गएको छ । आज पनि सुनको मुल्य तोलमा १०० रुपैयाले घटेको छ । सोमबार सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ रहेको थियो । आज त्यो घटेर ९१ हजार २०० रुपैयाँ रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै, आज तेजावी सुनको मुल्य पनि तोलमा १०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँ रहेको छ । यसैगरि आज चाँदीको मुल्य भने बढेको छ । हिजो प्रतितोला १३१० रहेको चाँदीको मूल्य आज तोलमा ५ रुपैयाँले बढेर १३१५ पुगेको महासंघको भनाइ छ ।
उपत्यकामा बैशाख १६ गतेबाट निषेधज्ञा : काठमाडौं उपत्यकामा आगामी बैशाख १६ गतेदेखि निषेधज्ञा लाग्ने भएको छ । आज उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म निषेधज्ञा लगाउने निर्णय गरिएको हो । उपत्यकाका ३ जिल्लाले आज संयुक्त रुपमा निर्देशन जारी गर्दै यसको जानकारी दिएका हुन् । निषेधज्ञा अवधीमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने छन् ।
साथै, सार्वजनिक सवारी साधान र निजी सवारी साधन पनि चल्न नदिने बताइएको छ । यस अवधीमा उपत्यकामा खाद्य सामग्री औषधी तथा स्वास्ग्य सामग्रीका पसल मात्र खुल्न पाउने छन् । त्यसबाहेक सबै पसल बन्द हुनेछन् । खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र खुल्ला गर्न पाइने छ ।
डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष भने विहान १० देखि बेलुका ५ बजेसम्म खोल्न दिने बताइएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय पनि सञ्चालन हुने छन् । त्यहाँका कर्मचारीले आफ्नो परिचय पत्र देखाएर हिड्न पाउने छन् ।
यस्तै, उपत्यकामा सबै प्रकारका सेमिनार, गोष्ठी, सभा सम्मेलन बन्द गरिने छ । साथै, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना बन्द गर्ने प्रसासनहरुको निर्देशन छ। विवाह ब्रतबन्धको कार्यक्रम भने प्रशासनको अनुमतिमा मात्र गर्नुपर्ने छ ।
त्यस्ता कार्यक्रममा १५ जना भन्दा बढी उपस्थीति हुन पाइने छैन भने पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्देशन छ । यातायात बन्द गरेपनि अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न दिइने छ ।
यस्तै, एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न दिइने निर्देशनमा उल्लेख छ ।
यस्तै, अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएर बिमानस्थल जान पाउने छन् । यस्तै, अब उपत्यका प्रवेश गर्ने सबै अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छ । त्यस्ता व्यक्ति होम क्वारेनटाइन पनि बस्न सक्ने छन् ।