सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ मंगलबार नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले सिंगटीको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँको रेन्जमा रहेर हुनेछ ।
‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार खुला हुनेछ । यस हाइड्रोपावरले चुक्ता पुँजीका अधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । यसमा २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका थिए।
स्वरोजगार लघुवित्तको नाफा साढे ९१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? : स्वरोजगार लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा साढे ९१ प्रतिशत बढीले बढेको छ । लघुवित्तको चालु आवको चैत मसान्तसम्म ११ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण यस्तो देखाएको हो । गत आवको यसै अवधिमा ५ करोड ८७ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा ९१.६९ प्रतिशतले बढेको हो ।
नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.५८ रुपैयाँ बढेर ३६.५२ रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ६०.३७ प्रतिशत बढेर १६ करोड ५२ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ सापटी गरी ५ अर्ब २१ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यसबाट २३ करोड ७ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ८ करोड ८३ लाख ५२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.५४, सञ्चालन नाफा ४२.३४, निक्षेप ४४.१६ र कर्जा लगानी ५५.५३ प्रतिशत बढेको छ ।