‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले आज पुनः पद तथा गोपनीयताको सपथ लिएका छन् ।
एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीले पुनः सपथ खुवाएका हुन् ।
‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई सांसद पद खारेज गरेको थियो । पार्टीले निस्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका थिए ।
प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा क्रमिक सुधार : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको शरीरमा सोडियमको मात्रा कमी र पिसावमा इन्फेक्सन भएको छ । छोरी गंगा दाहालले आमालाई दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र इन्फेक्सनका कारण अस्पताल भर्ना गर्नुपरेको जनाएकी छन् ।
साथै, उनले आमाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भन्दै चासो व्यक्त गरी स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्ने सवैमा आभार र धन्यवाद भनेकी छन् । ‘आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ । चासो व्यक्त गरि स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सबैमा आभार तथा धन्यवाद’ गंगाले फेसबुकमार्फत भनेकी छन् ।