गत आर्थिक वर्षमा २०७६/ ७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११,ज्ञ ८५ मेटन चिया निर्यात भएको थियो । को’रोना कहरबीच पनि चालु आ.व. २०७७/ ७८ को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैँया बराबरको ९,५७० मेटन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।
आज विहिबार बैशाख १६ गते चिया दिवसको सन्दर्भ पनि परेको छ । तर, सरकारले कोरोनाको दोस्रो लहर बढेको कारण काठमाडौं लगायत मुलुकका विभिन्न प्रमुख प्रभावित क्षेत्रमा निशेधाज्ञा जारी गरेको छ ।
सम्पुर्ण विश्व कोरोना महामारीसँग जुधिरहेको पृष्ठभूमिमा राष्ट्रिय चिया दिवसको २५ औँ संस्करण सम्म आइपुग्दा चिया उद्योग क्षेत्र सन्तोष जनक नै भएको चिया विकास बोर्डले बताउँछ । तथ्याङ्क अनुसार आ.व. २०७५/ ७६ मा २५,२०५ मेटन चिया उत्पादन हुँदा आ.व. २०७६/ ७७ मा २४,११८ मेटन चिया उत्पादन भएको बोर्डले जनाएको छ ।
यस्तै, उत्पादनमा केहि गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि हुनु उपलब्धीको रूपमा लिएको छ । एकातिर भौतिक दुरी कायम गर्दै स्वास्थ मापदण्डहरूको पालन गरि कोरोना महामारीबाट बच्नु परेको स्थिति छ ।
अर्कातिर महामारीका कारण ध्वस्त भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन पनि उत्तिकै महत्वपुर्ण रहेको छ । यसै पृष्ठभूमिमा २५ औँ राष्ट्रिय चिया दिवसको नारा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ रहेको छ । गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परेको चिया उत्पादक व्यवसायीहरु बताउँछन् ।
यद्यपी अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु परेन । लकडाउनका बीच पनि स्वास्थ्य सम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरि बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा रहेका थिए । जसले गर्दा अन्य बाली एवम् वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि भएको देखिन्छ ।
नेपालले धेरै उपभोग्य वस्तुहरू आयात गर्नु परेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरि आत्मनिर्भर भएको लामो समय भइसकेको छ । स्वदेशमा चिया उपभोग गरि बढि भएको उत्पादन भारत लगायतका तेश्रो मुलुकमा निर्यात हुने गरेको छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्ति भन्दा कम रहेको अनुमान बोर्डको छ ।