भन्सार विभागले को’भिड–१९ को बढ्दो सं’क्रमण र जो’खिमलाई ध्यानमा राखेर विद्युतीय माध्यमबाट मात्रै सेवा दिने भएको छ । विभागले बिहीबार सूचना जारी गर्दै अब विद्युतीय माध्यमबाट मात्रै सेवा दिने जानकारी गराएको हो ।
विभागले विद्युतीय माध्यमबाट दिन नसकिने सेवा हाललाई स्थगन गरेको जनाएको छ । को’भिड–१९ को दोस्रो लहरलाई ध्यानमा राखी मन्त्रिपरिषद्को १३ वैशाख र अर्थ मन्त्रालयको १५ वैशाखकको निर्णयअनुसार विभागले विद्युतीय माध्यमबाट मात्रै सेवा दिने भएको छ ।
‘आलोपालो गरी सेवा सञ्चालन गर्ने, वर्क फ्रम होमको अवधारणाअनुसार घरबाट विद्युतीय माध्यमको प्रयोग गरी सेवा दिने, अत्यावश्यकबाहेकका सार्वजनिक सेवाहरू सम्भव भएसम्म अनलाइन, भर्चुअल र विद्युतीय माध्यमबाट प्रवाह गर्ने तथा यसरी सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्देशन भएको सन्दर्भमा भन्सार विभागको सेवा व्यवस्थापन गरेको छ,’ सूचनामा भनिएको छ ।
विभागले कूटनीति तथा महसुल छुट सुविधा, मूल्यांकन पुनरावलोकन, निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) नयाँ जारी गर्ने, नवीकरण गर्ने, स्थगन वा खारेज भएका निकासी–पैठारी कोड नम्बर पुनः चालू गर्नेलगायतका काम अनलाइनबाट दिने जनाएको छ । यसका लागि विभागले सम्बन्धित शाखाको इमेलसमेत उपलब्ध गराएको छ । तोकिएको इमेलमा आवश्यक कागजाज र विवरणसहितको निवेदन पठाउन आग्रह गर्दै जाँचबुझपछि निवेदनउपर जवाफ दिने विभागले जानकारी गराएको छ ।
विभागले एक्जिम कोड खारेजीसम्बन्धी, एक्जिम कोड प्रयोजनका लागि राखिएको बैंक ग्यारेन्टी परिवर्तन र फुकुवासम्बन्धी कार्य, आव ०७७/७८ का लागि खरिद, निर्माण तथा सेवा परामर्शका लागि मौजुदा सूची दर्तासम्बन्धी कार्य र प्रत्यक्ष रूपमा सेवाग्राही आई सम्पर्क गरी हुने अन्य सम्पूर्ण कार्य हाललाई स्थगन गरेको छ । विद्युतीय माध्यमबाट सेवा दिन नसकिने तथा जनसम्पर्क बढी हुने यस्ता काम हाललाई स्थगन गरेको विभागले जनाएको छ । विभागले विद्युतीय माध्यमबाट सेवा लिनसमेत सेवाग्राहीलाई आग्रह गरेको छ ।