१८ वैशाख (रासस) । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।
एक सय ३२ औँ मजदूर दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौंँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गर्नुभएको हो । श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नुपर्ने चुनौती थपिएको जनाउँदै सभामुख सापकोटाले रोजगारी गुमाएर स्वदेश फर्किएका हजारौँ नेपाल श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रहरीको सक्रियताले बालविवाह रोकियो : जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो ।
दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उमेर नपुगेकी दुलही र मकवानपुर जिल्ला बकैया गाउँपालिका–७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको उहाँको भनाइ छ । “दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको पायौँ”, उहाँले भन्नुभयो ।
दुवै पक्षले केटीको उमेर नपुगी विवाह नगर्ने सहमति गरेपछि दुलहा र दुलही दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएर प्रहरीले पठाएको छ । प्रहरीले बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ ।