एक दशकपछि इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको इन्टर मिलानले यात्रालाई थप नजिक लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा खेलमा इन्टर मिलानले क्रोतोनेलाई २–० ले पराजित गरेको छ ।
अवे मैदानमा भएको खेलमा इन्टर मिलानले क्रोतोनेमाथि २–० को जित दर्ता गरेको हो । उसका लागि ६९ औँ मिनेटमा क्रिष्टियन एरिक्सन तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा हकिमीले गोल गरेका हुन् । जितपछि उपाधि नजिक पुगेको शीर्ष स्थानको इन्टर मिलानको ३४ खेलबाट ८२ अंक भएको छ ।
शनिबार राति नै भएको खेलमा बेनेवेन्तोलाई २–० ले पराजित गरेको एसी मिलान ६९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति हुने खेलमा एट्लान्टाले सासुओलोलाई पराजित गर्न नसकेको अवस्थामा इन्टर मिलानले सन् २०१० पछि पहिलो पटक सिरी ए उपाधि जित्ने छ ।