अविश्वास प्रस्तावपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन् ।
पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो । पोखरेलेको राजीनामापछि अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ ।
आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाई : काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने जनाएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले नियन्त्रणका लागि थप कडाइ गर्ने बताउनुभयो । आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर थप निर्णय गर्ने उहाँले बताउनुभयो ।
यस्तै समाचार संकलन गर्ने सञ्चारकर्मीहरुलाई पनि सूचना विभाग र प्रेस रजिष्टारको कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मात्र हिडडुल गर्न दिइने भएको छ । यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरुलाई पनि एक चौथाइ कर्मचारीमार्फत सेवा प्रवाह गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ ।
कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ ।